खेल २६ असोज २०८०
प्रभाव पार्न सक्ने खेलाडी– लिट्टन दास (बंगलादेश)

एजेन्सी

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशी टोलीका लागि ६ हजारभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन्, लिट्टन दास । २९ वर्षीय लिट्टन दासले बंगलादेशका लागि तीनवटै ढाँचाको अन्तराष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

जारी विश्वकपमा पनि बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डविरुद्ध उनले आक्रामक ब्याटिङ गरेका थिए । उनी टोलीका ओपनर ब्याट्सम्यान हुन् । इङ्ल्यान्डविरुद्ध तीन सय ६५ रनको विशाल विजय लक्ष्य पछ्याएको बंगलादेशका लागि उनले ६६ बलमा दुई छक्का र सात चौकाको मद्दतले ७६ रनको योगदान गरेका थिए । 

लिट्टन दासले हालसम्म बंगलादेशका लागि ७९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । एकदिवसीय खेलमा उनले ३२.९४ को औसतले कुल दुई हजार तीन सय ३९ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले पाँच सतक र ११ वटा अर्धसतक हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनको उच्च स्कोर एक सय ७६ रन हो । उनले ५२ वटा क्याच पनि लिएका छन् । यी दायाँहाते ब्याट्सम्यानले बंगलादेशका लागि ३९ वटा टेस्ट पनि खेलेका छन् । टेस्टमा उनले ३६.२७ को औसतले कुल दुई हजार तीन सय ९४ रन बनाएका छन् । 

लिट्टन दासले टेस्ट क्रिकेटमा तीन सतक र १६ वटा अर्धसतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ४१ रन हो । उनले ७२ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले देशका लागि ७३ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् ।  टी—२० अन्तर्राष्ट्रियमा उनले २३।५२ को औसतले कुल एक हजार ६ सय ७० रन बनाएका छन् । उनले १० वटा अर्धसतक पनि प्रहार गरेका छन् । टी—२० मा उनको उच्च स्कोर ८३ रन हो । उनले ३७ वटा क्याच पनि लिएका छन् । 

उनले सन् २०१५ को जुन १८ मा भारतविरुद्घ खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । टोलीलाई आवश्यक पर्दा उनी विकेटकिपरको भूमिकामा पनि देखिन्छन् । उनी विकेटकिपर ब्याट्सम्यानको भूमिकामा बंगलादेशी टोलीमा नयाँ उचाइ हासिल गर्ने पहिलो खेलाडी हुन् । उनले यू—१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । सन् २०१२ र सन् २०१४ को यू—१९ विश्वकपमा उनले ५१।३३ को औसतले रन बनाएका थिए । यू—१९ विश्वकपमा उनले एक सतक र तीन अर्धसतक पनि बनाएका थिए ।






प्रतिक्रिया

सम्बन्धित समाचार