अन्तर्राष्ट्रिय ११ श्रावण २०८०
जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो

ओमकार टाइम्स

टोकियो । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ ।

जापानको आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकअनुसार यो वर्षको जनवरीमा देशको कूल जनसङ्ख्या (मूलवासी र विदेशी गरी) १२.५४ करोड रहेको थियो । गत वर्षको तुलनामा विदेशीको सङ्ख्या २ लाख ८९ हजार ५०० ले बढेको छ । यो वृद्धि १० प्रतिशतभन्दा बढी छ ।

तर, यही अवधिमा जापानी नागरिकको जनसङ्ख्या भने ८ लाख ५२३ ले घटेको छ । सन् २००९ मा उच्च विन्दुमा पुगेपछि पछिल्ला १४ वर्षदेखि यो जनसङ्ख्या निरन्तर घटिरहेको छ । जापानका सबै क्षेत्रमा जापानी नागरिकको जनसङ्ख्या घटेको यो पहिलो अवसर पनि हो ।

विदेशी नागरिकको सङ्ख्या बढेका कारण राजधानी टोकियोको कूल जनसङ्ख्या भने बढेको छ । 

गत वर्ष जापानको मृत्युदर पनि उच्च पुगेको थियो । गत वर्ष १५.६ लाख जनाको मृत्यु भएको थियो । यो अवधिमा ७ लाख ७१ हजार ८०१ जना शिशुको जन्म भएको थियो । जापानसँगै चीन, दक्षिण कोरिया, सिंगापुर, ताइवानले पनि जापानको जस्तै समस्या भोगिरहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार