समाचार ५ श्रावण २०८०
सीके राउतविरुद्ध पूर्वसहकर्मीहरुले यसरी गर्दैछन् मोर्चाबन्दी

ओमकार टाइम्स

एक मधेस प्रदेश, समानुपातिक निर्वाचन प्रणाली, राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व, सेनामा सामूहिक प्रवेश, रोजगारी सिर्जना लगायतका एजेन्डा अगाडि सारेर उनीहरुले तयारी थालेका हुन् । 

सीके राउतबाट अलग भएर स्वाधीन मधेस अभियान चलाइरहेका कैलाश महतो, राष्ट्रिय स्वराज पार्टी चलाइरहेका इरफान अहमद शेख, नागरिक कर्जा मुक्त अभियान चलाइरहेका अशेश्वर कामत, मधेस एकता समाजका डा.रवीन्द्र यादवलगायत नेताहरू सङ्गठित हुन थालेका हुन् । 

स्वाधीन मधेस अभियानका संयोजक कैलाश महतोले सीके राउतबाट अलग भएका साथीहरू एक ठाउँमा सङ्गठित गर्ने प्रयास भइरहेको बताए । साझा एजेन्डामा छलफल चलिरहेको भन्दै उनले सबै सहमत भएपछि कार्यक्रम लिएर मधेशमा जाने बताए । 

लगभग साझा एजेन्डामा कुरा मिलिसकेको र केही वैचारिक मतभिन्नताहरू मिलाउने काम भइरहेको महतोको भनाइ छ ।

सीके राउतको साथ छाडेर अहिले लोसपामा रहेका जासर यादव पनि त्यो समूहमा सामेल भएका छन् । उनी भन्छन्, ‘मधेसमा एउटा संगठनको आवश्यकता छ, त्यसका लागि प्रयास भइरहेको छ । सीके राउतजीले जे एजेण्डाका साथ आन्दोलनलाई अगाडि बढाउनु भएको थियो, त्यो एजेन्डा छाडेर सरकारवादी बन्नुभएको छ । मधेसमा अहिले भ्याकुम छ, त्यसका लागि गहन छलफल भइरहेको छ ।

सीके राउतले मधेसी जनताले देखाएको धेरै सपना पुरा गर्न नसकेको दाबी गर्दै नेता यादवले अब पुराना नेता तथा कार्यकर्ताहरू सङ्गठित भएर जनतासँग सुझाव लिन जाने तयारीमा रहेको बताए । 

विदेशमा रहेका सीके राउतका कार्यकर्ताहरूसँग सम्पर्क बनाउने काम भइरहेको पनि उनको भनाइ छ । जनमतमा रहेका कतिपय असन्तुष्ट नेताहरू पनि आफूहरूको सम्पर्कमा रहेको दाबी उनले गरे । तर नेताहरूको नाम अहिल्यै खुलाउन चाहेनन् । 

पछिल्लो समय जनमत पार्टीले बनाएको केन्द्रीय समितिका कारण पनि पार्टीमा असन्तुष्टि बढेको छ । नयाँलाई ठाउँ दिएको र पुरानालाई किनारा लगाएको भन्दै नेताहरू असन्तुष्ट छन् । 

राउतको साथ छाडेका इरफान अहमद शेखले पनि पुराना साथीहरू सङ्गठित हुन लागेको बताए । ‘साझा एजेन्डामा कुराकानी भएको छ, साथीहरू पोजेटिभ छन् । चाँडै नै एउटा कार्यक्रम बनाएर अगाडि बढ्ने छौँ’, हाल बाँकेमा रहेका शेखले भने, ‘सीके राउतले मधेसलाई धोका दिएको कुरा सबैले अनुभूति गरेका छन् । मधेसका एजेन्डा छाडेर सरकारी एजेन्डामा काम गरिरहेको हुनाले अब मधेसका खास मुद्दामा हामीले काम गर्ने गरी तयारी थालेका छौँ ।’

राउतको साथ छाडेकाहरू आआफ्नो सङ्गठन बनाएर क्रियाशील छन् । ती सबै संगठनलाई जोडेर एउटा साझा मञ्च बनाई अगाडि बढ्ने तयारी भइरहेको शेखले बताए ।   


प्रतिक्रिया

सम्बन्धित समाचार