
लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन बृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याँकमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औसत बढी वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बताए ।उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौसय ८ मेट्रिक टन दुध उत्पादन भएकोमा गत आर्थिक वर्षमा १६ हजार एकसय ४३ मेट्रिक टन दुध उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुईसय ३४ मेट्रिक टन बढी दुध उत्पादन भएको कार्यालय प्रमुख डा.श्रेष्ठले बताए ।
कार्यालयका अनुसार उत्पादित दुधमध्ये गत आर्थिक वर्षमा भैसी दुधमात्रै १२ हजार चारसय ६४ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक तीन हजार ६६७ मेट्रिक टन गाईको र १२ मेट्रिक टन चौरीको दुध उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी पशुजन्य उत्पादनमध्ये करिब ८९ मेटीक टन मासु तथा माछा उत्पादन बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा तीन हजार ४५ मेट्रिक टन मासु तथा माछा उत्पादन भएकोमा गत आर्थिक वर्षमा तीन हजार एकसय ३४ मेट्रिक टन माछा तथा मासु उत्पादन भएको कार्यालयले जनाएको छ ।
जिल्लामा उत्पादित मासुमध्ये सवैभन्दा बढि राँगा तथा भैसीको मासु उत्पादन भएको छ । गत आर्थिक वर्षमा राँगा तथा भैसीको मासु मात्रै एकहजार तीनसय १७ मेट्रिक टन उत्पादन भएको छ । सो बाहेक नौ सय ५५ मेट्रिक टन खसी, ६ सय ८८ मेट्रिक टन कुखुरा, दुईसय ३२ मेट्रिक टन बंगुर, नौ सय २५ मेट्रिक टन भेडाको मासु उत्पादन भएको छ ।
सो बाहेक जिल्लामा ४७ दशमलव ८ मेट्रिक टन माछा उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरी जिल्लामा पशुजन्य उत्पादन मध्ये गत आर्थिक वर्षमा एक करोड ७० लाख १६ हजार गोटा अण्डा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक करोड ७० लाख १४ हजार गोटा अण्डा उत्पादन भएको थियो ।
जिल्लामा पशुजन्य उत्पादन मध्ये औषतमा माछा र अण्डा उत्पादन बृद्धि धेरै नभएको कार्यालयको तथ्यांकले देखाएको छ । खपत कम हुँदा अण्डा उत्पादनका लागि लमजुङ आत्मनिर्भर भएपनि माछा उत्पादनका निम्ति भने जिल्ला अझै परनिर्भर रहेको कार्यालय प्रमुख डा.श्रेष्ठको भनाइ छ ।
जिल्लामा व्यवसायिक रुपमा विभिन्न क्षेत्रमा माछा पालन पनि गरिएका छन् । यद्यपी जिल्लामा उत्पादित माछा मागअनुसार अत्यन्तै न्यून पाइएको छ । विशेष गरि जिल्ला सदरमुकाम बेंसीशहर सहित मुख्य बजार क्षेत्रहरुमा जिल्लामै उत्पादन गरिएका माछा कम मात्रै आयात हुने गरेको छ । सदरमुकाम सहितका मुख्य बजारहरुमा तराइ देखि ल्याइएका माछाहरू बिक्री वितरण गरेको पाइन्छ ।
यस्तै मासु प्रायोजनका निम्ति अत्याधिक रुपमा कुखुरा बाख्रा, भेडा बँगुर पालिएका छन् । कार्यालयको गत वर्षको तथ्यांकअनुसार जिल्लामा दुई लाख ७७ हजार ५१० कुखुरा पालिएका छन् भने एक लाख ३८ हजार चारसय ५० बाख्रा, १३ हजार पाँचसय ४० भेडा र चार हजार ९६५ बंगुर पालिएको तथ्यांक छ ।