
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै दायर भएको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ।
शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’सूचीमा परेको रिट निवेदन आइतबारका लागि न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको हो। नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएको छ।
रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाइएको छ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै रिट परेको हो। राष्ट्रपतिविरुद्ध अधिवक्ता डा सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरुले रिट दायर गरेका हुन्।