
काठमाडौ: इजरायलमा रहेका कृषि बिषयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले २५६४ औं बुद्ध जयन्ती विषेश कार्यक्रम गरेर मनाएका छन् । इजरायलको सातमोड स्थित कृषि कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले द्विप प्रज्वलन गर्दै भगवान गौतम बुद्धको स्मरण गरेका हुन् ।
अनलाइन कक्षामा व्यस्त रहेको समय भएता पनि नेपाली विद्यार्थीहरुले विषेश समय निकालेर शान्तिका अग्रदुत भगवान बुद्धलाई स्मरण गरिएको त्यहाँ स्थित विद्यार्थीहरुले बताएका छन् । ‘
कोरोनाको महामारीमा पनि हामीले शाक्य मुनि भगवान गौतम बुद्धको स्मरण गर्दै मनाउने मौका जुरेको छ, बिदेशी भुमीमा पनि भगवान बुद्धको स्मरण गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो’, ओमकार टाइम्स संग कुरा गर्दै झापा गौरादहका बिशन बस्नेतले भने । औपचारिक रुपमै गरिएको भनिएको उक्त कार्यक्रममा सभापतित्व नेत्र मिश्रले गरेका थिए भनें कार्यक्रमको संयोजन बिशन बस्नेत तथा कार्यक्रम सञ्चालन स्याम आचार्यले गरेका थिए । सातमोड डिभोरामा नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रहेता पनि सामाजिक दुरी कायम गर्दै मनाइएको कार्यक्रममा राष्ट्रिय ध्वजा सहित नेपालको नक्सांकन गरेर द्विप प्रज्वलित गरिएको बस्नेतले बताए ।
हरेक वर्ष बैशाख पुर्णिमाको दिन मनाइदै आएको बुद्ध जयन्ती यस पटक भने कोरोना त्रासका कारण खासै प्रभावकारी रूपमा मनाउन नसकिएता पनि ईन्टरनेटको माध्यमबाट र घर घरमा द्विप प्रज्वलन गर्दै मनाइएको छ ।