
सुनसरी : धरानको वीपी प्रतिष्ठानमा उपचाररत कोरोनाभाइरस (कोभिड–१९) संक्रमितमध्ये १८ जनालाई डिस्चार्ज गरिएको छ ।
उनीहरुको दुई पटक पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
डिस्चार्ज भएकामध्ये एक जना महिला धरानकी हुन् भने बाँकी झापाका रहेका प्रवक्ता सापकोटाले बताए ।
धरानकी महिलालाई एम्बुलेन्समा र झापाकालाई बसमा पठाइएको थियो ।
कोरोनालाई जित्न सफल भएका उनीहरूलाई धरान उपमहानगरका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह, कोरोना फोकल पर्सन डा. इन्द्र लिम्बूलगायतले बिदाई गरेका थिए ।
प्रतिष्ठानको आइसोलेसनमा अझै ८० संक्रमित उपचाररत छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।