पाँचथर हत्या काण्ड:  ९ जनाकै शव पोष्टमार्टमका लागि धरान लगियो

पाँचथर । पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ । हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।

घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ । घाइते बालिकाको लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ ।

सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका ९ जनाको हत्या भएको थियो । अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाईं धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

यस्तै फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दूरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।

दुई नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले झापाबाट प्रहरीको अनुसन्धान टोलीलाई बोलाइएको बताएका छन् ।