‘कोरोना सकिए जसरी भोजभतेर र भिडभाड हुँदा चिन्ता बढ्यो’

काठमाण्डाै – नागरिकले लकडाउन र स्वास्थ्य सुरक्षाको सतर्कता पालना नगरेको भन्दै सरकारले चिन्ता व्यक्त गरेकाे छ ।

सरकारले कोरोना भाइरसकाे सङ्क्रमणबाट बच्दै जनजीवन सामान्य बनाउने तयारी गरिरहे पनि नागरिक भने सामान्य अवस्थामा जस्तै कामै नभए पनि घरबाहिर डुल्ने, सार्वजनिक यातायातमा पनि सतर्कता नअपनाउने, अनावश्यक भिडभाड भइरहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिन्ता जनाएको हो ।

मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले भोजभतेर र जमघट भइरहेको, बैंक, सपिङ मल, रेस्टुरेन्टमा पनि भिडभाड देखिएको र सामाजिक दुरीलाई वास्ता नगरेकाले कोरोना फैलिने जोखिम बढेको बताउनुभयो ।

मानिसमा कोरोना सर्न डर हराउन थालेकोले चिन्ता बढेको भन्दै जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाउन डाक्टर गौतमले आग्रह गर्नुभयो । लकडाउन र सरकारले दिएका निर्देशन पालना गरेमात्रै कोरोनाविरुद्ध जित हासिल गर्न सकिने तर त्यसाे नगरे खतरा झनै बढ्ने भएकाले सरकारको अनुरोध पालना गर्न प्रवक्ता गौतमले आग्रह गर्नुभयो ।