
काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् ।शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो ।
सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए । उनले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काए ।
नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिए । त्यसपछि ११औँ ओभरमा उनले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए ।
सो ओभरमा उनले विपक्षी टोलीलाई मात्र एक रन दिए । यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए ।खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे ।
उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिए । टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो ।
एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो ।गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए ।
बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन/तीन तथा आन्द्रे रसेलले एक विकेट लिए । विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए ।