अमेरिकीहरुलाई सय दिन मास्क लगाइदिन बाइडेनको आग्रह

काठमाडौं– अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सय दिनका लागि मास्क लगाइदिन अमेरिकीहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी कम गर्न उनले अनुहार छोप्नका लागि विनम्रपूर्वक आग्रह गरेका हुन् ।

सीएनएनसँग बाइडेनले यदि अमेरिकीले अनुहार छोपेका छन् भने कोरोनाको घटनामा उल्लेखनीय कटौती आउने पनि उनले विश्वास गरेका छन् ।

बाइडेनले अमेरिकी सरकारले सबै सरकारी कार्यालयमा मास्क लगाउने आदेश दिने पनि बताएका छन् । सीएनएनसँगको अन्तर्वार्तामा उनले सधैका लागि नभई मात्र सय दिनका लागि साथ दिन आग्रह गरेका छन् ।

अमेरिकामा हाल १ करोड ४५ लाख ३४ हजार ६०६ कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म २ लाख ८२ हजार ८२८ जनाको ज्यान गइसकेको छ ।

बिहीबार मात्रै सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । एकैदिन अमेरिकामा दुई लाख १७ हजार ९८६ संक्रमित थपिएका छन् । एकै दिन २ हजार ९१५ जनाको ज्यान गएको छ ।