सफाई पाएका सिद्धबाबालाई थुनामै राख्न उच्च अदालतको आदेश

मोरङ : सुनसरी जिल्ला अदालतबाट सोमबार सफाई पाएका सिद्धबाबा अर्थात् कृष्णदास गिरीलाई थुनामा राख्ने पुरानै आदेश उच्च अदालत विराटनगरले दोहोर्याएको छ ।बुधबार कृष्णदासको मिसिल आइनपुगेका कारण न्यायाधीश यमुना भट्टराई र राजन भट्टराईको संयुक्त इजलासले तत्काल पुरानै आदेशलाई निरन्तरता दिन आदेश गरेको हो ।

उच्च अदालतले बुधबारको पेसीमा कृष्णदासको सक्कल मिसिल देखाउन जिल्ला अदालतलाई पत्राचार गरेको थियो । तर, मिसिल सर्वोच्च अदालतमा गएका कारण पेस हुन नसकेपछि तत्कालका लागि पुरानै आदेशलाई निरन्तरता दिन भनेको हो ।

सक्कल मिसिल प्राप्त भएपछि अर्को पेसीमा सुनुवाइ गरेर उच्च अदालतले कृष्णदासको पुनः बकपत्र गराउने वा पहिलेकै सदर गराउने भन्ने विषयमा जिल्ला अदालतलाई आदेश गर्नेछ ।सुनसरीको झुम्का कारागारमा पुर्पक्षका लागि बन्दी रहेका कृष्णदास अदालतले सफाइ दिएपछि चतारास्थित आश्रम गइसकेका छन् ।