ओमकार बिशेष : दमक नगरका सडकहरुमा दुर्घटनाको उच्च जोखिम , मुख्य सडकहरुमा खाल्डै खाल्डा

दमक । दमक नगर झापाको मात्र नभई नेपालकै उत्कृष्ट र विकसित नगरको रुपमा परिचित छ । प्रायः सबै सेवा सुबिधा पुगेको विकसित नगरको रुपमा दमक नगरलाई लिइन्छ । तर दमक नगरका मुख्य सडकहरुमा रहेका खाल्डाहरुले दमक नगरलाई कुरुप नगर बनाउदै लगेको देखिन्छ ।


दमक चोकबाट करिब ५ सय मिटर पुर्व सडक डिभिजन कार्यालय र करिब १ किलोमिटर पुर्व दमक नगरपालिका रहेका छन् । ती कार्यालयका गाडिहरु सयौं पटक चोकको घुम्ती छिचोल्दै ओहोरदोहोर गरे होलान् तर दमक नगरपालिका र सडक डभिजनको आँखा कहिले पनि चोककै घुम्तीमा रहेको खाल्डोमा परेनन् । एकतिर ढिस्को अर्कोतिर खाल्डो रहेको घुम्तीमा सयौं पटक दुर्घटना भएका छन् । साझ पख र पानी परेको समयमा अधिक रुपमा दुर्घटना हुने उक्त सडकलाई समयमै मर्मत नगरे भोलि ठूलो दुर्घटना भएर जीउधनको क्षति हुने निश्चित छ ।


दमक बसपार्कको उकालोको खाल्डो , बसपार्कबाट निस्किने पुर्व दक्षिणपट्टीको घुम्तीमा रहेका ठूला ठूला खाल्डाहरु , दमक चोकमा रहेको आकाशे पुलको पुर्व उत्तर र पुर्व दक्षिण पट्टी रहेका ठूला ठूला खाल्डाहरुले दमक सडक डिभिजन कार्यालय र दमक नगरपालिकालाई जिस्काई रहदापनि सम्बन्धित कार्यालय मौन रहनु आफैमा दुःखदायी कुरा हो ।


यसै सन्दर्भमा ओमकार टाइम्स प्रतिनिले दमक नगरपालिकाका मेयर रोमनाथ ओलीसंग सम्पर्क गर्न खोज्दा उनिसंग सम्पर्क हुन नसकेपछि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिमल्सिनासंग सम्पर्क गर्दा उनले भने ` यो सडक डिभिजन कार्यालयको काम हो , हामीले उहाँहरुसंग सम्पर्क गरेर यो समस्याको हल गर्न बारम्बार पहल गरिरहेका छौं ।´

त्यस्तै सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश प्रसाद पौडेलसंग जिज्ञासा राख्दा उनले भने ` हामीले पनि यो समस्या पहिचान गरिसकेका छौं , अब चाडो भन्दा चाडो सडकका खाल्डाखुल्डी पुर्छौं।´

सम्बन्धित निकायका आधिकारिक व्यक्तित्वहरुबाट जे जस्ता प्रतिक्रिया आएपनि सम्बन्धित निकाय यो जटिल समस्याको समाधान गर्न उदासीन देखिएकै छ ।हेर्दा सामान्य लागेपनि यात्रुको ज्यान नै जानसक्ने खतरा आफ्नो आँखा अगाडि देखेरपनि आँखा चिम्लिनुले सम्बन्धित निकाय कति जिम्मेवार पुर्वक काम गरिरहेको छ ? प्रश्न आफैमा गम्भीर छ ।