
दमक । झापाको गौरिगञ्ज गाँउपालिका तस्करी गरेर ल्याएका गाई गोरुको निकासीको केन्द्र बन्दै गएको छ । भारत तथा नेपालकै विभिन्न स्थानबाट संकलन गरि ल्याइएका गाई गोरुहरु गौरिगञ्ज नाकाबाट भारत कटाई बंगलादेशसम्म तस्करी गर्ने गरिएको पाइएको छ ।
भारतको बिहार , उत्तर प्रदेशबाट गाई गोरुहरु तस्करी गरेर नेपाल ल्याइएका गाई गोरुहरु गौरिगञ्ज पूर्व किस्ने खोलाको बगरमा भण्डारण गरि त्यहाँबाट सानो सानो संख्यामा गाई गोरुहरु धपाउदै बगाहचौधरीहुँदै भारत कटाइने गरेको पाइएको छ ।यसरी गाईगोरुहरु कटाउनको लागि त्यहीको स्थानीयलाई प्रयोग गर्ने गरेको पाइएको छ ।एकजोडी गाईगोरु भारत कटाए बापत कटाउनेलाई ५ सय रुपैया दिने गरेको श्रोतले ओमकार टाइम्सलाई जानकारी दियो ।
केही समय अगाडि तस्करी गर्न राखिएका गाई गोरु फुकेर स्थानीयको बाली खाएपछि स्थानीयले चर्को रुपमा बिरोध समेत जनाएका थिए ।क्षतिपूर्तिको माग राखि गाँउपालिकाको कार्यालय पुगेका स्थानीयहरुलाई सम्झाइ बुझाइ क्षतिपूर्ति दिने आश्वासन दिएर स्थानीय निकायले घटनालाई गुपचुप राखेको थियो ।
ठूला ठूला डाला भएका ट्रकमा गाईगोरु कोचेर खल्लम खुल्ला रुपमा ल्याई तस्करी गर्दा समेत स्थानीय निकाय मौन हुनु आफैमा शंकास्पद देखिन्छ । दिनका दिन सयौंको संख्यामा गाईगोरुहरु तस्करी हुदा न स्थानीय निकायका आँखा पुगेको छ न सिमा सुरक्षाको जिम्मा लिएर बसेको सशस्त्र प्रहरी बलको आँखा पुगेको छ ।
अझ रोचक कुरा त के छ भने गौरिगञ्ज गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ राप्रपा नेपालबाट निर्वाचित जनप्रतिनिधि हुन् । जस्ले गाई चुनाव चिन्हमा मतदातालाई मत हाल्न लगाएर चुनाव जितेका थिए । उनको चुनावी नारा मध्ये गाईको संरक्षण गर्नु प्रमुख थियो । गाईको संरक्षण गर्छु भनेर मतदातालाई आश्वासन दिएर आफ्नो नाकमुनिबाट गाईगोरुहरु तस्करी हुदा `चु´ सम्म नबोल्नुले के कुराको संकेत गर्दछ ? उत्तर जगजाहेर नै छ । आगामी दिनमा गाउँपालिकाले गाईगोरु तस्करी रोक्न के कदम चाल्दछ त्यो भने हेर्न बाकी नै छ । यस सम्बन्धि बिशेष रिपोर्टिङ ओमकार टाइम्सले आगामी दिनमा गर्ने नै छ ।