आजको मौसम : पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही तराईका जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का गर्मी महसुस भएको छ ।

साथै, केही उच्च पहाडी जिल्लामा भने हल्का हिमपात र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ र २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, राति पनि पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहने बताइएको छ ।

साथै, प्रदेश १ र २, तथा बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।