
खुट्टामा लागेको चोटका कारण राफाल नाडालले यस सिजनको युएस ओपन टेनिस प्रतियोगिता गुमाउने भएका छन् । स्पेनिस स्टार नाडाल यस वर्षभर कोर्टबाहिरै हुनेछन् । चोटकै कारण गत साता उनले सिन्सिनाट्टी र क्यानेडियन ओपन गुमाएका थिए ।
‘मैले चोटका कारण धेरै खराब महसुस गरिसकेको छु र केही समय आराम लिन चाहन्छु,’ ३५ वर्षका नाडालले इन्स्टाग्राममा लेखेका छन् । उनले परिवार र आफ्नो टिमसँग सल्लाह गरेर यस्तो निर्णय लिएको बताएका छन् । गत जुनमा फ्रेन्च ओपनको सेमिफाइनलमा नाडाललाई नोभाक जोकोभिचले हराएका थिए ।
३० अगस्ट, सोमबारबाट युएस ओपन सुरु हुँदैछ । डिफेन्डिङ च्याम्पियन डोमिनिक थिइम र पाँच पटकका विजेता रोजर फेडेररले पनि यस सिजन युएस ओपनमा सहभागिता जनाउने छैनन् । थिइमको हातमा चोट लागेको छ भने फेडेरर घुँडाको शल्यक्रिया गर्ने तयारीमा छन् ।
फेडेरर, नाडाल र जोकोभिच सर्वाधिक धेरैपटक ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडीको सुचीमा संयुक्त रुपमा पहिलो नम्बरमा छन् । उनीहरु सबैले २०–२० पटक यो उपाधि जितेका छन् ।