गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप दिने

काठमाडौँ : एलायन्स फर गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदानमा दिने भएको छ । गाभीले आगामी अक्टोबरमा फाइजर खोप उपलब्ध गराउने भएको छ । गाभीले ट्रायल स्वरुप उक्त खोप उपलब्ध गराउन लागेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले जानकारी दिए ।

उनले भने, ‘गाभीले खोप सेप्टेम्बरमै पठाउने कुरा थियो तर पछिल्लो समय प्राविधिक तयारी गर्नुपर्ने हुनाले अक्टोबरमा पठाउने भएको छ ।’ खोप भण्डारणका लागि नेपालमा भौतिक पूर्वाधार नभएकाले युनिसेफले खोप आउनुअघि रेफ्रिजेटर उपलब्ध गराउने उनले बताए ।

बिज्ञापन

फाइजर माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । जुन संरचना नेपालमा नभएकाले युनिसेफ चार वटा फ्रिज उपलब्ध गराउने बताइएको छ । प्रमुख पोखरेलले फाइजर खोप अन्य खोपभन्दा फरक भएकाले उक्त खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने बताए ।

फाइजर खोप नेपालका लागि नयाँ हो । त्यसको सबै तयारी अलग्गै गर्नुपर्छ । डोज पनि कम, सिरिंज पनि ०.३ एमएलको आवश्यक पर्छ । कोल्ड चेन पनि नयाँ चाहिन्छ । यो खोप पाउडरमा हुने भएकाले घोल्नुपर्ने हुन्छ । त्यसका लागि तालिम दिनुपर्ने हुन्छ । घोलेर एक घण्टा बाहिर राख्नुपर्छ ।

नेपालले ६० लाख डोज फाइजर र ४० लाख मोर्डना खोप खरीद गर्न लागेको छ । जुन खोप १८ वर्षमुनिका बालबालिकालाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले निर्णय गरिसकेको छ । एक लाख डोजको ट्रायलसँगै थप खोप भण्डारणका लागि कोल्ड चेनको क्षमता बढाउने र बिस्तार गर्ने कार्य पनि अगाडि बढाइने बताइएको छ ।