
एजेन्सी । सिरियामा हवाई आक्रमणमा परी कम्तिमा ५० जना नागरिक मारिएका छन् भने सयौँ घाइते भएको जनाइएको छ । विद्रोहीको पकडमा रहेको इड्लिबमा सिरियाली र रुसी सैनिकले हवाई आक्रमण गरेको जनाइएको छ ।
इड्लिबमा प्रान्तको मारात अल–नुमानस्थित व्यस्त तरकारी बजारमा आक्रमण हुँदा ३६ जना नागरिकको मृत्यु भएको र अन्य दुई अज्ञात व्यक्ति मारिएका हुन् ।
उक्त घटनामा परी सेतो हेलिमेट लगाउने उद्धार समूहका स्वयम्सेवक पनि मारिएको जनाइएको छ ।
त्यसैगरी सोमबार नै इड्लिबका अन्य क्षेत्रमा सरकारी सेनाको आक्रमणमा १२ जना नागरिक मारिएको बेलायत आधारित सिरियन अब्जरभेटोरी फर ह्युमन राईट्सले जनाएको छ ।
उक्त आक्रमणपछि सिरियाली सरकारी सञ्चारमाध्यमले उत्तरी हामा प्रान्तस्थित जोउरिन गाउँ विद्रोहीले बन्द गर्ने क्रममा ७ जना नागरिक मारिएको जनाएको छ ।