कार्यकारी भूमिकाविहीन सीसीएमसी

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को कार्यकारी भूमिका खोसिएपछि निष्कृय जस्तै बनेको छ । सीसीएमसीले यसअघि कोरोना भाइरस महामारीको समयमा उपप्रधानमन्त्रीको नेतृत्वसँगै समन्वयकारी भूमिकास र व्यवस्थापनको काम गर्दे आएको थियो ।

सरकारले २०७८ असोज ५ गते कोभिड–१९ व्यवस्थापन आदेश, २०७८ जारी गरेसँगै सीसीएमसीमा कार्यकारी भूमिकामा नरहेको केन्द्रका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

अनुगमन, आदेश र समन्वयकारी भूमिकामा मात्र रहने भएकाले कोरोना भाइरस सम्बन्धिका गतिविधि सम्वन्धित निकायबाटै हुने गरी आदेश जारी भएको उनले बताइन् ।

आदेशमा संरचनागत व्यवस्थामा निर्देशन समितिमा प्रधानमन्त्रीको अध्यक्षता रहने व्यवस्था रहेको छ । प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समन्वय केन्द्र गठन गर्ने र प्रधानमन्त्री कार्यालयकै सह–सचिव सदस्यसचिव रहने व्यवस्था गरेको छ ।

आदेशले तत्काल अनुगमन समिति बनाउने भनिएपनि समिति गठन भने हुन नसकेको केन्द्रले जनाएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिन थालेको र संक्रमण तीव्र बन्दै गएपछि नेपाल सरकारले समेत उच्च सतर्कता अपनाउन थालेको पाइन्छ ।

यसमा सम्बन्धित निकायबाटै काम हुने भएकाले सीसीएमसीको कार्यकारी भूमिका नभएको नेपालले बताइन् ।

नेपाली सेनाले होल्डिङ सेन्टरको जिम्मा लिएको र अन्य निकायलाई सबै जिम्मेवारी तोकिएको छ ।