
धादिङ । बिक्रीका लागि सदरमुकामबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवारले लुटेको पसल व्यवसायीले आरोप लगाएका छन् । वडा अध्यक्षबाटै पसलको सामान लुटिएको भन्दै धादिङको गंगाजमुना गाउँपालिका तावेलका एक व्यवसायी न्याय माग्न सदमुकाम धादिङबेसी आइपुगेका छन् ।
धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावेलमामा रहेको रहेला रोजी एण्ड रोजन इन्टरप्राईजेज नामको होलसेल पसलमा बिक्रीका लागि लैजाँदै गरिएको करिब चार लाख मूल्य बराबरको सामान सोमबार गाउँ नपुग्दै लुटिएको पसलका सञ्चालक रेशम तामाङले बताए ।
सदरमुकाम धादिङबेसीबाट खरिद गरी दुईवटा ट्रकमा राखेर गाउँ लैजाँदै गरेको दाल, चिनी, प्लाई, पेट्रोल, डीजेल, चामल, खानेपानी पाईपसमेत गरी चार लाख मूल्य बराबरको सामान लुटिएको तामाङले बताए ।