स्थानीय तहका ३४ हजार ८२९ पदका लागि आज निर्वाचन

देश सङ्घीय ढाँचामा गएपछि आज दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदै छ । ७५३ वटा स्थानीय तहका पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्यसहित वडा सदस्य २ जना चयनका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।

३५ हजार २२१ पदमध्ये ३९० जना प्रतिनिधि यसअघि सर्वसम्मत् निर्वाचित भइसकेका छन् । ३ जना गाउँपालिका अध्यक्ष, ४ जना उपाध्यक्ष, ४८ जना वडाध्यक्ष, १६४ जना दलित सदस्य, ७१ महिला सदस्य र १०० जना सदस्य निर्वाचित भइसकेका निर्वाचन आयोगको अभिलेख छ। स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारको मृत्यु भएपछि आयोगले ९ वटा स्थानीय तहको निर्वाचन तालिका हेरफेर गरेको छ।

उम्मेदवारको निधन भएका सुनसरी, रौतहट, मोरङ, कपिलवस्तु, रूपन्देही, सिरहा र दाङका विभिन्न पालिकाको निर्वाचन कार्यतालिका संशोधन भएको हो । कपिलवस्तुको महाराजगंज नगरमा ३ जेठका लागि निर्वाचन कार्यतालिका तय गरिएको छ। यस नगरमा नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखकी उम्मेदवार शुभावती कुर्मीको गत मंगलबार निधन भएपछि नयाँ तालिका तय भएको हो । दाङको तुलसीपुर उपमनगरपालिका– १७ को निर्वाचन पनि ३ जेठलाई तय गरिएको छ । यस वडामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मंगलबार मृत्यु भएपछि आयोगले निर्वाचन कार्यक्रम संशोधन गरेको हो।

२७ वैशाखअघि निधन भएका उम्मेदवारका पालिका र वडामा आज शुक्रबार नै निर्वाचन हुने गरी कार्यक्रम संशोधन गरिएको आयोगका सहसचिव तुलसीप्रसाद श्रेष्ठले जानकारी दिए । ‘कपिलवस्तु र दाङमा ३ जेठमा निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम बनेको छ, अन्यत्र भोलि (शुक्रबार) नै निर्वाचन हुनेछ’, बिहीबार साँझ उनले द नेपालटप दैनिकसँग भने । कपिलवस्तुको कपिलवस्तु नगरपालिका– १० मा नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र चौधरी थारूको २३ वैशाखमा निधन भएको थियो । त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका– ६ मा कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवादेवी चमारको १४ वैशाखमा मृत्यु भएको थियो ।

त्यस्तै, रौतहट वृन्दावन नगरपालिका– ५ मा जनता समाजवादी पार्टीबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मीना देवीको पनि १६ वैशाखमा निधन भएको आयोगले जनाएको छ । मोरङको केराबारी गाउँपालिका– २ मा कांग्रेसका वडा सदस्य उम्मेदवार नवीन लिम्बूको १६ वैशाखमा मृत्यु भएको थियो। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको पनि १६ वैशाखमा निधन भएकाले निर्वाचन कार्यक्रम संशोधन गरिएको आयोगले जनाएको छ ।

रूपन्देहीको मर्चवारी गाउँपालिका– ३ मा एमालेका तर्फबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य कसुमी पासिनको १७ वैशाखमा मृत्यु भएको थियो । सिरहा नगरपलिका– ५ मा एमालेको तर्फबाट वडा सदस्यकी उम्मेदवार मुना सेखको पनि २३ वैशाखमा मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रम आज शुक्रबार हुने आयोगले प्रष्ट्याएको छ।निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्र छन् । देशभर १ लाख ४५ हजार ९२ जना उम्मेदवार छन्।

उनीहरूमध्येबाट आगामी ५ वर्षका लागि ३५ हजार २२१ जना नयाँ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यो निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाको विवरण मतदाता सूचीमा रहेको निर्वाचन आयोगले जनाएको छ । कुनै कारणवस निर्वाचन परिचयपत्र हराएका तर मतदाता सूचीमा नाम समावेश भएकाहरूलाई आयोगले आफ्नो परिचय खुल्ने परिचयपत्रका आधारमा पनि मतदान गर्न मिल्ने व्यवस्था मिलाएको छ। मतदाता परिचयपत्र नभएकालाई नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, लालपुर्जा, सवारी साधनको अनुमतिपत्र जस्ता सरकारी विवरण खुल्ने कागजपत्रका आधारमा मतदान गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक खटेका छन् । स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार मतदान अधिकृतको अनुमतिबिना जो कोहीले मतदान केन्द्रमा प्रवेश पाउँदैन । निर्देशिकाअनुसार, मतदान केन्द्र वा स्थलमा तोकिएको समय अवधिभित्र मतदाता, उम्मेदवार र उनका एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि र आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षकले प्रवेश पाउनेछन्।

त्यसैगरी आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेका बढीमा ५ वर्षका बालक, दृष्टिविहीन वा शारीरिक अशक्त मतदाताको एकाघरका सहयोगी मतदान केन्द्रमा प्रवेश गर्न सक्छन् ।