बलात्कार मुद्दा फिर्ता लिन मेयर देखि मन्त्री सम्मको दबाब

पाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरुले दबाब दिएको पीडित पक्षले बताएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा गत बैशाखमा बलात्कृत भएकी बालिकाको बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब आएको पीडित पक्षले आरोप लगाएको हो ।

बैशाख १५ गते पीडित बालिका घरमा पढिरहेको बेला पछाडिको पर्खालबाट हामफाल्दै बटेश्वर गाउँपालिका–४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिका बस्दै आएका ४२ वर्षीय छिमेकी राजकुमार साहले बालिकालाई बलात्कार गरेका थिए ।

घटना भएदेखि नै विभिन्न प्रकारले दबाब आईरहेपनि स्थानीयको सहयोगमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा मुद्दा दर्ता गराएपछि पक्राउ परेका थिए ।

घटना अदालतसम्म पुगेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, र क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगी पञ्जियारले घटना दबाउन मुद्दा फिर्ता लिन दबाब दिँदै आएका छन् ।

नागरिक दैनिकबाट