
काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। बगमती प्रदेशको हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं महाधिवेशनको उद्घाटन गर्ने भएका छन्। उद्घाटन समारोहका पार्टीका शीर्ष नेताहरु हेटौंडा पुगिसकेका छन्। प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने शुक्रबार बिहान ८ बजे एकै हेलिकोप्टरमा जाने कार्यक्रम रहेको छ। करिब आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन हुन लागेको हो।
महाधिवेशनमा पदाधिकारीका लागि संस्थापन र संस्थापनइतर पक्षले उम्मेदवारी घोषणा गरिसकेका छ। संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको उम्मेदवारी रहने भएको छ। संस्थापनइतर समूहका तर्फबाट अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने भएका छन्।
महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्ष खुलातर्फ राममणि दाहाल र नकुल अर्याल तथा उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल उम्मेदवार बन्ने पक्का भएको छ। दुवै पक्षले बाँकी उम्मेदवार शुक्रबार बेलुकासम्म तय गर्नेछन्। महाधिवेशन भोलिसम्म चल्नेछ। महाधिवेशनका लागि देशभरका कांग्रेस समर्थित पत्रकारहरू हेटौंडा पुगिसकेका छन्।