
सुनसरी । अघिल्ला वर्षहरुमा जुट (सनपाट) खेतीबाट मनग्यै आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरु यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् ।
मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरु उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन् ।
उत्पादन भएको जुटको मूल्यमा पनि गरावट आएपछि आफूहरुको रुचि समेत सो खेतीमा घटदै गएको किसानहरुको भनाई छ ।
भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढन गएको तर आम्दानी कम हुने गरेको उनीहरुको पीडा छ । सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन्, “सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउँनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौं ।”
खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।