
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
घटस्थापनाको अवसरमा आज चितवनमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको दौडमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको बताए । उनले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डले मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको बताएका छन् । चितवनका जनता सचेत र लोकतन्त्रको पक्षमा रहेको उनको भनाइ थियो । प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै देशलाई आर्थिक क्रान्तिको दिशामा लैजानुपर्नेमा प्रचण्डको जोड छ ।
प्रचण्डले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको पनि बताए । प्रत्येक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने खतरा भइराख्ने भन्दै उनले प्रत्यक ठूला क्रान्ति र परिवर्तन उल्ट्याउने प्रयत्न र षडयन्त्र हुने बताए । तर, नेपालमा मात्रै नभई संसारभरि त्यस्तै हुने प्रचण्डको भनाई छ ।