नेपालगन्ज : नेकपा अध्यक्ष पुष्पकमल दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो ।
नेकपा बाँकेले आयोजना गरेको चियापानमा सहभागी हुन आएका अध्यक्ष दाहालले मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले पेस गरेको ७ बुँदे मागपत्र बुझ्दै भने, ‘यो मागपत्र म एक्लै पढ्दिनँ । प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्छु । ढिलोचाँडो म प्रधानमन्त्री भएलगत्तै यी सबै माग पूरा गर्छु ।’ उनले आफू सरकारको नेतृत्वमा आएपछि सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्न पहल गर्ने पनि बताए । अध्यक्ष दाहाल उद्योग वाणिज्य संघको कार्यक्रमलगत्तै चियापानमा सहभागी भएका थिए ।
त्यहाँ नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले अहिले आफू प्रधानमन्त्री नभएकामा आफूलाई फाइदा पुगेको बताए । ‘प्रधानमन्त्री नभएका कारण मलाई पार्टीको काम गर्ने अवसर मिलेको छ । देश र जनताको पीरमर्का बुझ्न पाएको छु,’ उनले भने, ‘जिल्ला–जिल्ला पुगेर कार्यकर्तासँग भेट्न पाएको छु ।’
त्यसअघि नेपालगन्ज विमानस्थलमा पत्रकारसँग उनले प्रदेश प्रमुख नियुक्तिका सम्बन्धमा वरिष्ठ नेता माधव नेपालले आपत्ति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेख्नुलाई सामान्य भनी प्रतिक्रिया दिएका थिए । ‘माधवजीले एकरदुई जनाको नाम पारौं भनेर जोड दिनुभएकै हो । बैठकले उहाँले भनेजस्तो निर्णय गरेन । चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक प्रक्रिया हो,’ उनले भने । प्रदेश प्रमुखको नियुक्ति कानुनसम्मत नै भएको उनले दाबी गरे । नेता नेपालले प्रदेश प्रमुखको नियुक्तिमा एकलौटी निर्णय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । आजको कान्तिपुर दैनिकबाट