काठमाडौं- दशरथ रंगशालाको निर्माणमा कार्यरत एक कामदारको ज्यान गएको छ । भिआईपीतर्फको प्यारापिटको छानोमा पोल लगाउने काममा संलग्न ईन्द्रलाल श्रेष्ठको शनिबार अपरान्ह ज्यान गएको हो । श्रेष्ठको ह्रदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शुक्रबार बिहानबाट क्रेन चलाउन सुरु गरेका श्रेष्ठले शनिबार बिहान ११ बजेसम्म काम गरेका थिए । उक्त दिन रानभर पोल लगाउने काम भएको थियो । पोल लगाउन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) पनि रातभर रंगशालामै बसेका (खटेका) थिए ।

दशरथ रंगशालाको भिआईपीतर्फको छानोमा पोल गाड्ने काममा ब्यस्त रहेका श्रेष्ठलाई रातभर अनिद्रो रहेका कारण स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनी शनिबार मध्यान्ह घर गएका थिए । घरमा जाने बित्तिकै उनले वान्ता गरेको र उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।

श्रेष्ठ परिवारसँगै पुरानो बानेश्वरमा बस्दै आएका थिए । मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दशरथ रंगशालाको निर्माणको कम तिव्र गतिमा भइरहेको छ । सोही क्रममा दशरथ रंगशालाको पुनर्निमाणमा कामदार खटिरहेका छन् । रातोपाटीबाट