
काठमाडौं । जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन लागेका छन् ।

चितवन मेडिकल कलेजले २५३ शय्या कोरोना उपचारका लागि भनेर छुट्याएकामा अहिले १५३ कोरोराका बिरामी रहेका छन् । अस्पतालका अपरेसन म्यानेजर पारस अधिकारीका अनुसार कोरोनाका लागि ३० वटा भेन्टिलेटर छुट्याइएकामा अहिले त्यहाँ २९ बिरामी रहेका छन् । बाँकी भेन्टिलेटरलाई आकस्मिक कक्षमा प्रयोग गरिएको छ । बिरामी एचडियुमा रहेका छन् भने १०१ जना सघन उपचार कक्षमा रहेको उनले जानकारी दिए । अन्य एचडियुमा रहेको उनले बताए । अस्पतालको आकस्मिक कक्षमा समेत बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।



उनले भने “कोभिडको रिपोर्ट नआएका तर भेन्टिलेटरमा राख्नु पर्नेलाई आकस्मिक कक्षमा राखी उपचार गरिरहेका छौँ ।” अस्पतालमा बिरामीको चित्कार देख्दा दर्दनाक स्थिति भएको उनको भनाइ छ । उनले भने, “दैनिक जसो अस्पताल आउँदा आउँदै मृत्यु हुने बिरामीको सङ्ख्या चारदेखि पाँच जना रहेका छन् ।” श्वासप्रश्वासमा समस्या भई अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भइसकेकाको स्वाब नै परीक्षण नगरी पठाउने गरिएको छ । बिरामीको चाप बढ्दै गए अस्पतालले अक्सिजन पु¥याउन नसक्ने उनले बताए ।
