नेपाल घुम्न आएका ५ जना विदेशी पर्यटकलाई झापाकाे सिमा क्षेत्रबाट भारतीय प्रहरीले पक्राउ गरेको छ । झापाकाे केचना क्षेत्रमा घुम्ने क्रममा बाटो बिर्सिएर सीमा नाघेका ३ पुरुष र २ महिला युक्रेनी नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेकाे हाे ।

बाटाे बिराएर नेपालकाे सिमा बाहिर पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर स्थानीय सुखानी थानामा बुझाएको छ । पक्राउ परेकामा ३० बर्षिया मार्याना रुडिक, ३३ बर्षिय भोल्डिमेयर कोभाल्चुक, ३५ बर्षिया लिलिया कोभाल्चुक, ३५ बर्षिय ओलेक्जन्डर कोप्टिभ र २६ बर्षिय इभान सेच रहेका छन् । उनीहरु झापाको बनियानी स्थित होली फिल्ड स्कूलमा स्वयंसेवक रहेका २ जना साथी भेट्न त्यहाँ पुगेका थिए ।

माेटरसाइकलमा चढेर केचना घुम्न निस्किएका उनीहरु बाटाे बिराएर करिव ५० मिटर भारततर्फ पुगेकाे नेपाली सुरक्षा अधिकारीले जनाएका छन् । पक्राउ परेका नागरिकलाई भारतीय प्रहरीले मुद्दा चलाउने तयारी गरेकाे छ । नेपाल प्रहरीले उनीहरुलाई छुटाउन प्रयास गर्दा भारतीय प्रहरीले माथिल्लो निकायमा जानकारी गराइसकेकाे र किशनगंज जिल्ला अदालतमा मुद्दा चलाउने तयारी भएकाे जवाफ फर्काएकाे छ । पाँचै जना नागरिक १५ दिने भिषामा एकसाता अघि नेपाल आएका थिए ।

फोटो : उदय राजवंशी