इराक : इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीको सरकारले संसदमा पेश भएको राजीनामालाई त्यहाँको संसदले आइतबार स्वीकृत गरेको छ । आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि खासगरी सिया समुदायका धर्मगुरू ग्राण्ड आयातोल्लाह अली सिस्तानीले राजीनामा दिन प्रधानमन्त्रीलाई दवाब दिएपछि प्रधानमन्त्री मेहदीले संसदमा राजीनामा पेश गरेका थिए।

 

“उनको राजीनामालाई संसदले स्वीकृत गरेको छ,” सभामुखले सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा बताए। इराकमा करिब दुई महिनादेखि राजधानी बग्दाद तथा मुलुकको दक्षिणी क्षेत्रमा भएका आन्दोलनका क्रममा ४२० जनाको मृत्यु भएको छ ।

 

पछिल्लो समय भ्रष्टाचारविरोधी अभियान सशक्त बन्दै गएपछि मेहदीले संसदमा आफ्नो राजिनामा पेश गर्ने र संसदको निर्णय आफूले मान्ने गत शुक्रबार घोषणा गरेका थिए। इराकी संसदले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरेपछि सभामुखले नयाँ प्रधानमन्त्रीका लागि कानूनी प्रक्रियालाई छिट्टै अघि बढाउने बताए।