प्रदर्शनकारी र प्रहरीबीच झडप, एकको मृत्यु दर्जन बढी घाइते

सर्लाही । जिल्लाकाे बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच आईतवार दिउँसो भएको झडपमा परी एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

 

बिज्ञापन

झडपमा प्रहरीले चलाएको गोली लागी ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको हो ।

 

 

सर्लाही र महोत्तरी भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए ।

 

बालकको मृत्युपछि स्थानीयवासीले आज दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चौकमा शव ल्याएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले राजमार्ग खुलाउनेक्रममा दोहोरो झडप भएको हो ।

 

झडपमा परी टाउकोमा गोली लागेका देवन महतोको घटनास्थलमै मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । घटनामा परी अर्का एक जना प्रदर्शनकारी पनि घाईते छन् । उनको परिचय खुलेको छैन् । प्रदर्शनकारीबाट ढुङ्गा प्रहार हुँदा १३ जना नेपाल प्रहरी घाईते भएका छन् ।

 

सशस्त्र प्रहरीतर्फ पनि केही सुरक्षाकर्मी घाईते भए पनि सङ्ख्या एकिन हुन सकेको छैन् ।

 

घाईते सुरक्षाकर्मीको लालबन्दी र हरिवनका विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट १४ शेल अश्रु ग्याँस र करिव दुई दर्जन हवाई फायर गरेको जनाएको छ ।