लुक्ला हवाई दुर्घटना : तीन मृतककाे पहिचान खुल्याे, घाइतेकाे उपचार काठमाडाैँमा


काठमाडाैँ । आज बिहान सोलुखुम्बुको लुक्ला विमानस्थलमा रनवे बाट चिप्लिएर समिट एयरकाे जहाज दुर्घटना हुँदा मुत्यु हुनेकाे संख्या तीन पुगेकाे पुष्टि भएकाे छ ।

रामेछापका लागि उड्न लागेकाे समिट एयरकाे विमान बिहान करिब सवा नाै बजेतिर मनाङ एयर श्री एयरको हेलिकप्टरसँग ठाेक्किएकाे थियाे ।

साेलुखुम्बु प्रहरीका अनुसार घटनास्थलमै दुई जनाकाे निधन भएकाे थियाे । जसमा समिट एयरका को–पाइलट सुजित ढुंगाना र विमानस्थलमा ड्यूटीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का रहेका छन्

यस्तै साेही विमानस्थलमा ड्युटीमा रहेका अर्का सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पतालमा पुर्याउँदा मृत्यु भएकाे जनाइएकाे छ ।

घटनामा घाइते भएका मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ, मनाङ एयरकै कर्मचारी लाक्पा शेर्पा र समिट एयरका क्याप्टेन रविन्द्रवहादुर रोकायाकाे काठमाडाैँमा ग्राण्डी अस्पतालमै उपचार भइरहेकाे छ । उनीहरुकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालले जनाएकाे छ ।

समिट एयरको कल साइन ९ एन एएमएच विमान एड्ने क्रममा रनवेबाट अचानक दायाँ माेडिएर हेलिकाेप्टर पार्किङ गरेकाे स्थानतर्फ जाेतिएकाे थियाे । साे विमान सुरूमा मनाङ एयरको हेलिकोप्टर र त्यसपछि श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको प्रदक्षदर्शीले बताएका छन् । समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको छ ।

दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन । क्षतिकाे यकिन विवरण समेत आउन सकेकाे छैन । घटना अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।