
सिरहा : प्रहरीले सिरहाबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा लुकिछिपी बिक्री वितरण गरिरहेको विशेष सुराकीको आधारमा सिरहा गोलबजार नगरपालिका ७ बाट आज (सोमबार) ३ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोलबजार ७ का कृष्णा यादव र रामप्रवेश महतो रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट सात थान मोवाइल, १६ हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही महिनादेखि सिरहाको गोलबजार नगरपालिका क्षेत्र ब्राउनसुगरको ट्रान्जिट प्वाइन्टको रुपमा विकास भइरहेको छ । हालसम्म प्रहरीले ३१ जना ब्राउनसुगर कारोवारीलाई पक्राउ गरिसकेको छ भने अन्य माथि निगरानीमा रहेको प्रहरीले जनाएको छ ।
ब्राउन सुगर तथा लागूऔषध कारोबारको विगबिगीका कारण पछिल्लो केही समयदेखि सिरहाको गोलबजारमा चोरी, लुटपाट, डकैती, महिला हिंसा लगायतका घटनाहरु बढिरहेको स्थानीय मनोज महतोले बताए । उनका अनुसार पछिल्लो केही समयदेखि गोलबजार ब्राउनसुगर कारोवारीको अड्डा बन्दै गएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीका अनुसार ब्राउन सुगरमा संलग्न रहेको विशेषतः युवाहरु बढी रहेको जानकारी दिए ।