नयाँ दिल्ली र तेलङ्गनामा पनि भेटियो कोरोनाको संक्रमण

काठमाडौं : नयाँ दिल्ली र तेलङ्गनामा पनि १/१ जनामा कोरोनाको संक्रमण भेटिएको छ। परीक्षण गर्दा दुवैमा कोभिड–१९ पोजेटिभ देखिएको भारतीय प्रेस इन्फर्मेसन ब्युरोले जनाएको छ।

 

दिल्लीमा कोरोना संक्रमण देखिएका व्यक्ति इटलीबाट फर्किएका हुन् भने त्यस्तै तेलङ्गनामा संक्रमित फेला परेका व्यक्ति दुवईबाट फर्किएका हुन्।

 

यी दुवैको थप परीक्षणहरु भइरहेको छ। भारतमा अहिले २३ हजार भन्दा धेरै मानिसलाई कोरोना भाइरसको सम्भावित भन्दै निगरानीमा राखिएको छ।

 

नयाँ दिल्ली र तेलङ्गनामा पनि एक/एक जनामा भेटियो कोरोनाको संक्रमण

 

यसैबीच भारतीय सरकारको अध्यागमन विभागले आज एक विज्ञप्ति जारी गर्दै १५ जनवरीदेखि यता चीन पुगेका कसैलाई पनि भारत प्रवेशका लागि अनुमति नदिने जनाएको छ।

 

‘१५ जनवरीमा र त्यसपछि चीनमा रहेका कुनै पनि विदेशीलाई वायु, जमिन र समुद्री कुनै पनि माध्यमबाट भारत प्रवेशका लागि अनुमति छैन। उनीहरूलाई भारत-नेपाल, भारत-भुटान, भारत-बंगलादेश र भारत-म्यानमारका नाकाबाट समेत प्रवेश निषेध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

 

भारतले संसारका कुनै पनि ठाउँबाट आउने चिनियाँ पासपोर्टधारीलाई ५ फेब्रुअरी दिइएको भिसा खारेज गर्ने निर्णय गरेको छ।