
आईपीएल/इन्डियन प्रिमियर लिग(आईपीएल)क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जीत हात पारेको छ । दुबईमा गएराति भएको खेलमा बैंगलोरले साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनायो ।
चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए भने नारायण जागाडिसनले ३३, शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।
बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट लिए भने वासिङ्गटन सुन्दरले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित ९० रन र शिवम दुबेले अविजित २२ रन जोडे । देवदुत पडीक्कलले ३३ रन जोडे भने वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रन तथा एबी डी भिलियर्स शून्य रनमा पभेलियन फर्किए ।
चेन्नईका सार्दुल ठाकुरले २ तथा साम कुरान र दिपक चाहरले १–१ विकेट लिए । जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलबाट ८ अंक जोडेको छ ।
छैटौं स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलबाट चेन्नईको ४ अंक मात्रै रहेको छ ।