निवर्तमान सञ्चारमन्त्री  बाँस्कोटाको घरमा बम बिस्फोट गराएको अभियोगमा विप्लव समूहका नेता गुरुङ पक्राउ

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट गराएको अभियोगमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

 

महानगरीय अपराध महाशाखाको टोलीले नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरूङलाई काठमाडाैंकाे जडीबुटीबाट पक्राउ गरेकाे हाे ।

 

बाँस्कोटा सञ्चारमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्नुअघि विदेशी कम्पनीका एजेन्टसँग कराेडाैं रूपैयाँ घूस बार्गेनिङ गरेकाे अडियाे सार्वजनिक भएकाे थियाे । त्यसअघि फोरजी सेवा विस्तारमा पनि करोडौं रकम दुरुपयोग गरेको आरोप उनीमाथि लाग्दै आएकाे छ । यही विषयलाई लिएर नेकपाले बाँस्काेटाकाे घरमा बुधबार बिहान बम बिस्फोट गराएको जनाएको थियो ।

 

विज्ञप्ति निकालेर नेकपाले बाँस्काेटामाथि १० बुँदे आरोप लगाएको छ ।