कोरोनाभाइरस : एक श्वासप्रश्वासका बिरामीले बुटवल र काठमाडौंका अस्पताल चहार्दा पनि उपचार पाएनन्

काठमाडौं ः सरकारले कोरोनाभाइरसको सङ्क्रमणवाट बच्न ठूलो तयारी गरिरहेको बताए पनि तीन दिनदेखि एक बिरामीले एकपछि अर्को गर्दै कम्तीमा आधा दर्जन अस्पताल चहारेको घटनाले त्यसमाथि प्रश्न उठेको छ।

 

नवलपरासीका एक २५ वर्षीय युवामा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि उनलाई कम्तीमा छवटा अस्पताल पुर्याइए पनि कुनै अस्पताल उपचारका लागि तयार नभएको परिवारले बताएको छ।

 

उनलाई लुम्बिनी र काठमाण्डूका अस्पतालहरूमा पुर्याइएको उनकी आमाले  बताएकी छन्।उनको विषयमा समाचार बन्न थालेपछि भने लुम्बिनी प्रादेशिक अस्पतालले खोजेर नै बिहीवारबाट उनको उपचार शुरू गरेको छ र उनको अवस्था सामान्य रहेको छ।

 

घटना के हो?

पश्चिम नवलपरासी हुकईका ती युवालाई चैत्र ४ गते मङ्गलवार बेलुका ९ बजे परासीको सदरमुकाममा रहेको सरकारी अस्पताल पृथ्वीचन्द्र अस्पाताल पर्याइएको थियो। भारतमा चालकको काम गर्दै आएका उनलाई सो अस्पतालले केही समय राखेर प्रर्याप्त उपकरण नभएको भन्दै बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठायो।

 

पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा. नुरुल होडा भन्छन्,‘आकस्मिक कक्षमा सामान्य उपचारपछि बेडमा राखेका थियौँ तर बिरामीको श्वासप्रश्वासमा समस्या देखियो।’

 

‘एक्सरे हेर्दा नियमोनिया पनि देखियो। भेन्टीलेटरमा राख्नु पर्ने अवस्था आएकोले हामीले अक्सीजनसहित बिरामीलाई बुटवल पठाएका हौँ।’

 

बेडको अभाव

 

तर ती बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिन मानेन। अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले अस्पतालमा त्यस्ता बिरामी राख्ने बेड नभएकोले भर्ना गर्न नसकिएको बताए । उनले भने,‘हामीसँग आइसोलेसनका लागि छुट्टाएका बेडहरू खाली थिएनन। बिरामीलाई सिधै आईसीयूमा राख्ने कुरा भएन, त्यसैले भरतपुर पठाइदियौँ।’

 

बिरामीका एक आफन्तका अनुसार भरतपुरको पुरानो मेडिकल कलेजले पनि भर्ना लिएन र बिरामीलाई काठमाण्डूको टेकु अस्पताल रिफर गरियो।

 

भरतपुरदेखि काठमाडौं

 

डा. खनालले दिएको जानकारीलाई आधार मान्ने हो भने उनलाई आफन्तहरुले वीर अस्पताल पुर्याए । तर वीर अस्पतालले टेकु अस्पतालमै पठायो । बिरामीका आफन्तहरू पढेलेखेका नभएकाले उनीहरू टेकु अस्पताल पुगे नपुगेको थाहा हुन नसकेको डा. खनाल बताउँछन्।

 

डा. होडाले बिरामीलाई टेकु अस्पतालमा नपुर्याइएको जानकारी पाएको बताउँदै काठमाडौंका अरु दुई अस्पतालमा लगिएको ठान्छन्। कुनै अस्पतालले पनि उपचार गर्न नमानेपछि बिरामी बिहीवार बुटवल नै फर्किएका थिए।

 

बुटवलमा अन्य दुई अस्पतालले पनि उपचार गर्न नमाने पछि बिरामीलाई शुरूकै पृथ्वीचन्द्र अस्पताल पुर्याइएको थियो। यसबीच उनको विवरण सञ्चारमाध्यममा आउन थालेपछि नागरिकहरूले अस्पतालको उपचारमा प्रश्न उठाउन थाले र लुम्बिनी प्रादेशिक अस्पताल बिरामी खोज्न थाल्यो।

बीबीसी