
सशस्त्र प्रहरी बलले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षामा थप कडाइ गर्ने भएको छ । लकडाउनको समयमा भारत हुँदै लुकिछिपी नेपाल प्रवेश गर्ने मानिसका कारण कोरोना भाइसरको जोखिम बढेको भन्दै सशस्त्र प्रहरी बलले सीमा क्षेत्र थपमा कडाइ गर्न लागेको हो ।
त्यसका लागि सशस्त्र प्रहरी बलले अस्थायी आउट बोर्डर पोस्ट (बीओपी) थप्ने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठको भनाइ छ ।
हाल नेपाल-भारत सीमाको १५ किलोमिटको दूरीमा रहेको सशस्त्रको बीओपीलाई ३ देखि ५ किलोमिटरको दूरीमा राख्ने गरेर तयारी भइरहेको डीआईजी श्रेष्ठले बताए ।
हाल नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले १ सय ८ वटा बीओपी राखेको छ । सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार इलाममा, झापाका ७, मोरङका ६, सुनसरीका ९, सप्तरीका ६, सिरहाका ६, धनुषाका ६, महोत्तरीका ६, सर्लाही ६ र रौतहटको ५ स्थानमा बीओपी स्थापना भएको छ ।
त्यस्तै, बारामा ६ , पर्सामा ९, चितवनमा ३, पूर्वी नवलपरासीमा ३, पश्चिम नवलपरासीमा ३, रुपन्देहीका ४, कपिलवस्तुका ५, दाङका २, बाँकेका ५, बर्दियाका ४, कैलालीका ३ र कञ्चनपुरका ४ ठाउँमा सशस्त्र प्रहरी बलले बीओपी राखेको छ ।
हरेक बीओपी पोस्टमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी खटाइने गरेको छ । तर, धेरै ठाउँमा सशस्त्र प्रहरी बलको बीओपी राख्दा भने जनशक्ति अभाव हुने देखिन्छ । सशस्त्र प्रहरी बलमा हाल ३६ हजार मात्र जनशक्ति छन् । विभिन्न विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी खटिँदै आएको छ ।
त्यसरी नै लकडाउनमा कडाइ र सीमा नाकाको आवगमनमा पूर्ण रोक लगाउन नेपाल प्रहरीले समेत ३ सय ८ ठाउँमा चेक पोस्ट स्थापना गरेको छ ।
यसअघि नेपाल-भारत सीमामा प्रहरीको १ सय २२ स्थानमा चेक प्वाइन्ट रोखिएको थियो ।
११ चैतदेखि सरकारले लकडाउन गरे पनि भारत सरकारले नेपाल प्रवेश गर्न आउने नेपालीलाई सहज तरिकाले पठाउँदा भारत सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरूको संख्या उल्लेख्य छ ।
हजारौैँको संख्यामा नेपाली सीमा क्षेत्रमा पुगेर रोकिएका छन् । उनीहरू चोरबाटो हुँदै नेपाल प्रवेश गर्ने दाउमा छन् । यसरी अवैध रूपमा नेपाल प्रवेश गर्नेका कारण कोरोनाको उच्च जोखिम हुने सरकारको ठहर छ ।