
जानुका निरौला
झापा । समाचार संकलन गर्न गौरादह नगरपालिका गएका ओमकार टाइम्सका सम्पादक सान नेपाल माथि दुर्ववहार भएको छ । बिश्व कोरोनाले आक्रान्त भएको बेलामा गौरादह नगरपालिकाले राहत संकलन गरेको समाचार संकलन गर्न पुगेका पत्रकार नेपाललाई फेसबुकमा स्टाटस लेखेको बिषयमा गौरादह नगरपालिकाका कार्यकारी अधिकृत खेम ओझाले हप्काएका हुन्।
राहात संकलन कार्यक्रम सकिए पछि आज झण्डै १:३० मा नगरपालिका पुगेका ओझालाई मेयर रोहित कुमार शाहले नगर समितिले निर्णय गरेर खरिद समितिमा राखेको वडा नम्बर २ का वडाध्यक्ष हेमन्त कार्कीको नाम किन हटाउनुभयो ? भनेर प्रश्न गर्दा मेयरलाई नै हप्काउदै ` कुरा बुझेर मात्र बोल्नुस् ´ भन्दै रवाफिलो पारामा प्रस्तुत भएका ओझाले आफू अगाडि बसेका स्वास्थ्यका कर्मचारी गोबिन्द श्रेष्ठलाई हप्काउदै `के हो स्वास्थ्यको पारा ? स्वास्थ्यका बिषयमा मान्छेले फेसबुकमा स्टाटस् लेखेका छन् त ? ´ कड्किए ।
कुर्सीमा उपरखुट्टी लगाएर खुट्टा हल्लाउँदै सबैको बिचमा रवाफिलो पारामा बसेका अधिकृत ओझाले स्वास्थ्यका कर्मचारी श्रेष्ठ तिर हेरेर `को हो सान नेपाल ? फेसबुकमा जे पायो त्यहीँ स्टाटस् लेख्ने ? भन्दै कराए पछि उनी पछाडि बसेका पत्रकार नेपाल तिर देखाउदै वार्ड नम्बर १ वडा सदस्य कमल ढुंगानाले भने `उहाँ नै हो सान नेपाल ´ ढुंगानाको बोली सक्किन नपाई नेपाल तिर फर्केर कुटौला झै गर्दै ओझाले ` फेसबुकमा के लेखेको स्टाटस् ? हामीलाई नसोधी स्टाटस् लेख्न पाईन्छ ? ´ भन्दै झपारेपछि पत्रकार नेपालले ` त्यस्तो नराम्रो त केही लेखेको छैन अधिकृत ज्यु , फेरि मैले मेरो फेसबुकमा स्टाटस् लेख्न हजुरलाई किन सोध्नुपर्ने ? ´ पत्रकार नेपालको जवाफ सुनेर झन रिसले अनुहार रातो पार्दै ओझा कराए `स्वास्थ्यको बिषयमा जे पायो त्यही लेख्न पाईन्छ ? ´ मात्र भन्दै कराएका अधिकृत ओझाले स्टाटसमा जे पायो त्यही चै के थियो ? त्यो स्टाटसले कस कसलाई नकारात्मक असर परेको थियो ? कुनै खुलाएनन् ।
राणा शासनमा भन्दा बढी चरम उदण्ड शैलीमा प्रस्तुत भएका अधिकृत ओझाको रबैया अति भए पछि संगैरहेका अर्का पत्रकार डण्डीराज घिमिरेले `कार्यकारी अधिकृत जत्तिको मान्छेले यसरी प्रस्तुत हुनु राम्रो भएन ,चित्त नबुझेको कुरा छन् भने त्यसलाई उचित तरिकाले समाधान निकाल्न सकिन्छ नि !´ भने पछि ओझालाई १ नम्बर वार्डका वडाध्यक्ष नगेन्द्र भण्डारीले तानेर भित्र लगेका थिए ।
पत्रकार नेपाललाई गौरादह नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीले यस्तो समयमा पनि स्वास्थ्यका कर्मचारीलाई कसैले सहयोग नगरेको , साबुन , माक्स , सेनिटाइजर किन्ने देखि क्वारेन्टाइन बनाउनेसम्मका सम्पूर्ण काम आफैले गर्नु परेको दुखेसो गरेपछि पत्रकार नेपालले यस्तो स्टाटस् लेखेका थिए
यस बिषयमा अधिकृत ओझासंग ओमकार टाइम्सले जिज्ञासा राख्दा `मैले स्टाटस लेख्दा कम्तीमा मलाई सोधेको भए हुन्थ्यो मात्र भनेको हो हप्काएको हैन ´ भने । स्टाटस लेख्दा पनि स्वतन्त्र ढंगले लेख्न नपाउने हजुरलाई सोध्नु पर्ने ? भन्ने ओमकारको अर्को प्रश्नमा `तपाईं मलाई के घुमाउदै हुनुहुन्छ ? मैले हप्काको छैन भनेपछि सकियो त !´भन्दै अधिकृत ओझा झर्किए ।
यस बिषयमा गौरादह नगरपालिकाका मेयर रोहित शाहसंग जिज्ञासा राख्दा `म भित्र काम गर्दै थिए , अधिकृतले हप्काएको थाहा पाइन तर फेसबुकमा स्टाटस लेखेको भरमा हप्काउन पाइदैन त्यो गलत हो ´ शाहले भने ।
यसै बिषयलाई लिएर जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेललाई ओमकार टाइम्सले सम्पर्क गर्दा `म अनुगमन गर्छु ´ भन्दै फोन राखे ।
कोरोनाले भयावह भएको समयमा ज्यानको बाजि लगाएर समाचार संकलन गरेर बिश्वलाई सुसूचित गर्ने देखिलिएर राज्यका हरेक निकायको क्रियाकलापलाई जस्ताको तस्तै सार्वजनिक गर्ने एक पत्रकारले स्टाटस लेखेकै भरमा नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत जस्तो राज्यको जिम्मेवार कर्मचारीले गैरजिम्मेवार पुर्वक हप्काउनुलाई सरोकारवाला निकायले कसरी लिनेछन् त्यो आगामी दिनले देखाउने छ ।ओमकारले फलोअप गर्नेछ ।