
जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले कोरोना भाइरसको रोकथामका लागि नगरभित्र ‘सेनिटाइज’को नाममा लाखौं रुपैयाँ अनियमितता गरेको स्थानियबासीले आरोप लगाएका छन् ।
गत आर्थिक वर्षको विपद् व्यवस्थापन कोषमा रहेको लाखौं रुपैयाँ मेयर र उपमेयरले नगरभित्रका आफ्ना नेता कार्यकर्ता र राजनितिक दलसँग निकट रहेका घरअगाडी मात्र सेनिटाईज गराएर अनियमितता गरेको स्थानियको आरोप छ ।
नगरभित्र सेनिटाइजको नाममा सो रकम खर्च गरेतापनि हालसम्म अधिकांश ठाउँमा सेनिटाइज नै गरिएको छैन्,स्थानीय पुष्पा मिश्रले आरोप लगाईन । उनका अनुसार आफ्नो टोलमा एकदिन पनि सेनिटाइज गरिएको छैन् । वडाध्यक्षलाई सो सम्बन्धमा पटक पटक ताकेदा गर्दा पनि उनले कुनै चासो नदेखाएको उनको गुनासो छ ।
त्यस्तै स्थानीय राजेश कुमार कर्ण सामाजिक सञ्जालमा तिनवटा सांकेतिक तस्बिरहरु राखेर लेख्छन्,‘सेनिटाइजमा जउमनपाको विपद् व्यवस्थापन कोषको ८० लाख सकियो,तपाईंको घर कति पटक सेनिटाइज भयो ? एउटा घरको सेनिटाइज खर्च मुश्किलले ३ सय रुपैयाँ लाग्ने । त्यस अनुसार सबै जनकपुरवासीको कम्तीमा ३ पटक हुनुपर्ने हो । फेरि भन्नुहोस कति पटक भयो ?’
यस सम्बन्धमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले भने,‘सरकारी कर्मचारी र उच्च पदस्थ व्यक्तिहरुको बसोबास रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित पिडरीया माईस्थान एरियामा मेरो पनि घर छ तर त्यहाँ सेनिटाइज गर्ने कुरा त परै जाओस अहिलेसम्म लामखुट्टे मार्ने औषधिको धुवाँ समेत देखिएको छैन् ।’
