
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आम जनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।
राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञिप्त जारी गर्दै कोभिड-१९ को महामारीको जोखिमका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम गर्न नसकिएको जनाउँदै पार्टी स्थापना दिवसका अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
राजपाले (कोभिड-१९) को महामारीबाट जोगिन सम्पूर्ण पार्टीपङ्क्तिलाई एक ढिक्का भएर दृढ संकल्पका साथ लकडाउनको नियम पालना गर्न÷गराउन पनि आग्रह गरेको छ ।
सुरक्षित रही आफ्नो वडामा नागरिकलाई राहतलगायत अन्य कुनै प्रकारको समस्या देखिए समन्वयकारी भूमिका निर्वाह गर्नसमेत राजपाले पार्टीपङ्तिलाई आग्रह गरेको छ । वि.सं.२०७४ वैशाख ७ गते मधेश केन्द्रित छ राजनीतिक दल मिलेर राजपा स्थापना भएको थियो ।
राजपाको दुई वर्षदेखि पार्टी एकताको महाधिवेशन हुन सकेको छैन । चक्रीय प्रणाली अनुरुप हरेक दुई महिनामा राजपाको नेतृत्व परिवर्तन हुने परम्परा छ । सोही अनुरुप राजपा अध्यक्षमण्डलका छ सदस्यले पालैपालो नेतृत्व लिँदै आएका छन् ।
वि.सं.२०७६ को कात्तिक २७ देखि २९ सम्म पार्टीको महाधिवेशन मिति घोषणा गरिए पनि अन्तिम समयमा स्थगन भएको थियो । वि.सं.२०७७ को असार मसान्तसम्म महाधिवेशन गर्ने राजपाको योजना रहे पनि कोभिड-१९ को प्रकोप नेपालमा पनि देखिएपछि अनिश्चित बनेको छ । रासस