दमकमा ३ जना आइसुलेसनमा र २५ जना क्वारेन्टाइनमा

मक/ झापाको दमकमा एकजनामा कोरोना संक्रमण देखिएपछि अपनाईएको शर्तकता र सावधानीले थप कसैमा पनि कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । यो संगै संक्रमित भेटिएको दमक ३ र दमकले नै राहत महसुस गरेको छ । निक्कै त्रास थियो तर अब ढुक्क भईएको छ, वडा नं. ३ का वडाध्यक्ष नविन बरालले भने ।

 

अब संक्रमितबाट थपलाई संक्रमणको जोखिम कम रहेको बताईन्छ । तर पनि परिवारका सदस्यहरु भने दमक नगरपालिकाको स्वास्थ्य शाखाको निगरानीमा नै रहनेछन् । संक्रमितसंग सम्पर्कमा आएकाहरुले पनि सामाजिक दुरी कायम राखेर नै केहि समय बसेको राम्रो हुने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।

 

शनिवार दमक नगरपालिकाले जारी गरेको बिज्ञप्ति अनुसार दमक नगरपालिका– ४ स्थीत मानसरोवर कलेजको क्वारेन्टाईनमा ११ जना ब्याक्तिहरु क्वारेन्टाइनमा रहेकाछन् । दमक नगरपालिका स्वास्थ्य शाखाले क्वारेन्टाइनमा रहेकाहरुको दैनिक स्वास्थ्य जाँच तथा रेखदेख गर्दै आएको छ ।

 

यसैगरी वडा नंं ६ स्थित जामे मस्जिदमा १४ जना क्वारेन्टाइनमा रहेकाछन् । उनिहरु भारतीय नागरिक हुन् । जम्मा २५ जना क्वारेन्टाइनमा रहेकोमा निजहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जारी गरेको बिज्ञप्तिमा छ ।

 

यसैगरी दमक अस्पतालको आइसोलेसनमा पुरुष १ जना र महिला २ जना गरेर ३ जना रहेकाछन् । आइसुलेसनमा रहेकाहरुको पनि रिर्पोट भने नेगेटिभ नै आएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य छ। दमक नगरपालिका स्वास्थय शाखाका स्वास्थ्य निरिक्षक बद्रि बरालका अनुसार अहिलेसम्म दमकमा सबैको सहयोगले कोरोना संक्रमणको लडाईमा सफलता मिल्दै गएको छ ।