
झापा: झापाको गौरादह नगरपालिका वार्ड नं. १ निवासी सामाजिक व्यक्ति गणेश बहादुर गिरीको सोमबार बिहान निधन भएको छ । लामो समय देखि फोक्सोको क्यान्सर बाट पिडित गिरीको डिपु चोक स्थित आफ्नै निवासमा ८४ वर्षको उमेरमा निधन भएको हो ।
विगत २ वर्ष देखि क्यान्सर रोगबाट पिडित गिरीको उपचार अमेरिकाको ओमाहामा उपचार गरिएको थियो भनें थप उपचार भारतको मेदान्त अस्पतालमा तथा काठमाडौको मेडिसिटीमा गरिदै आएको राप्रपा सह महामन्त्री तथा वहाँका भान्जा राजेश गिरीले ओमकार टाइम्स लाई बताउनु भयो ।
अन्तिम संस्कार
स्व. गिरीको आजै अन्तिम संस्कार गरिएको छ ।’हजुरबुवा सन्यास आश्रम धारणा गर्नु भएको, आमालाई पनि सोही आसपासमा समाधिष्ट गरिएको र आमा तथा हजुरबुबा संगै आफू पनि संगै समाधिष्ट हुन मृत्युपुर्व आफैंले इच्छा जाहेर गर्नु भएकोले गृहपरिसर मै समाधिष्ट गरिएको हो, अन्तिम कर्म हिन्दु वैदिक सनातन परम्परा अनुसार हुनेछ’, भान्जा राजेश गिरीले बताउनु भयो ।
सामाजिक, अध्यात्मिक रुचि संगै कृषि र पशुपालन
पन्चायती व्यस्था शुरु भए लगत्तै गौरादहमा स्थायी बसोबास गर्न आउनु भएका गिरीलाई तत्कालीन गौरादह गाउँ पन्चायतको संस्थापक कै रूपमा लिने गरिएको छ । तत्कालीन समयमा गौरादह क्षेत्रमा रहेका कृयाशिल व्यक्तिहरु डिठ्ठा नरबहादुर बस्नेत, गणेश बहादुर गिरी, बम बहादुर कार्की, लोक बहादुर खड्का तथा भोला सुबेदीको नाम अग्रपंक्तिमा आउने गरेको स्थानीयहरु बताउछन् । तत्कालीन सबै सहयात्रीले बिदा लिएर गएता पनि गणेश बहादुर गिरी एक मात्र ज्युंदो इतिहास रहेका गिरीको निधनले गौरादहको इतिहासमा एउटा अध्याय नै समाप्त भएको र एक युग पुरुषको अन्त्य भएको स्थानीय माझ चर्चा छ ।
आफ्नो जीवनकाल भरी सामाजिक क्षेत्रमा सदैव कृयाशिल हुँदै आउनु भएका स्व. गिरीले गौरादह बहुमुखी क्याम्पस स्थापनाको लागि १ बिघा जमिन दान गर्नु भएको र गौरादह क्षेत्रमा रहेका दर्जनौं मठ मन्दिरमा आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नु भएको पाइन्छ । सामाजिक क्षेत्रमा कृयाशिल हुनुका बाबजुद वहाँ एक अब्बल कृषक पनि हुनुहुन्थ्यो । आफ्नै गृह परिसरमा करिब १० कट्ठा क्षेत्रफलमा पोखरी खनेर माछापालन गरेका स्व. गिरीको पशुपालन व्यवसायमा समेत गहिरो रुचि रहेकोे पाइन्छ ।
स्व. गिरीका दुई श्रीमती सहित ११ छोराछोरी रहेका छन् भने जेठा सुपुत्र दिपक र कान्छा जीवन अमेरिकाको नेब्रास्कामा पेट्रोल पम्प, ग्रोसरी स्टोर, मोटेल लगायतका व्यवसाय सञ्चालक हुन् । त्यसैगरी माहिला सुपुत्र दिलिप गिरी सीता एयरमा पाइलट क्याप्टेन रहेको बताइएको छ ।
सामाजिक क्षेत्रका शिखर पुरुष, अध्यात्मिक योद्धा स्व. गणेश बहादुर गिरी प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनु भएका सम्पुर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना अर्पण गर्दछौं- ओमकार टाइम्स परिवार