
लकडाउनका वेला पनि भारतबाट प्रतिबन्धित लागुऔषध र गुट्खा नेपाल ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडरले एकजनालाई पक्राउ गरेको छ ।
सिराहा नगरपालिका– १७ लचकाटोलमा सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषध र गुट्खा गएराति बरामद गरेको छ । हावाहुरी चलिरहेका वेला लचकाटोलका २० वर्षीय विजयलाल पासवान लागुऔषध कोरेक्स र विभिन्न नामका गुट्खा ल्याउँदै गर्दा पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए ।
पक्राउ परेका पासवानसँग बोरामा राखिएको ८० बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स, राजनिवास गुट्खा एक सय ६८ प्याकेट, बिगबोस गुट्खा २९ प्याकेट र ठूलो अगरबत्ती १७ प्याकेट बरामद भएको प्रहरी उपरीक्षक कँडेलले बताए । बरामद गरिएको गुट्खा ४३ हजार पाँच सय मूल्यको भएको सशस्त्र प्रहरीले जनाएको छ ।
गुट्खा सिराहा भन्सार कार्यालयमा बुझाइएको र लागुऔषध कोरेक्ससहित पासवानलाई जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान गर्न बुझाइएको प्रहरी उपरीक्षक कँडेलले बताए । लकडाउनका वेला सिराहामा लागुऔषध कारोबारी र सेवनकर्ता लागुऔषधसहित पक्राउ पर्दै आएका छन् ।