
पर्सा – पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ममता महतोले ३६ करोड ८९ लाख २६ हजार रुपैयाँको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।



नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष महतोले शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन, भौतिक पूर्वाधार महिला, बालबलिका तथा युवालगायत क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको बताइन् ।

प्रसिद्ध धार्मिक स्थलहरु दुधेश्वरनाथ महादेव (भाठा बाबा मन्दिर)गादीमाई मन्दिर, भौरीमाई मन्दिर, वनस्पतिमाई मन्दिरलगायतलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारणा गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।
गाउँपालिकाको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टर र घरघरमा स्वास्थ्य सेवा प्रदान, गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्सको व्यवस्था, गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा, गर्भवती महिलालाई पोषण भत्ताको व्यवस्थाका उच्च शिक्षा र प्राविधिक शिक्षालाई पहिलो प्राथमिकता राख्ने साथै युवाहरुका लागि आत्मनिर्भर तथा स्वरोजगार बनाउन विभिन्न सिप मुलक तालिमको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष हरीनारायण चौधरीले बताए ।
कोरोना कहरको कारण प्रभावित भएका क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउने अभिप्रायले गाउँपालिकाले बजेट तयार पारेको उनले बताए । गाउँपालिकाको स्रोत र साधनले भ्याएसम्मका कामहरु गर्ने र जनतालाई स्थानीय सरकारको आभाष गराउने प्रयास आफुले शतप्रतिशत गरेको अध्यक्ष चौधरीको दावी रहेको छ ।