
विराटनगर : मोरङको बेलबारी नगरपालिका -४ काकुम बुधबारेमा बिहीबार बिहान आमाको हत्यापछि छोरा आफूले पनि घाँटीमा चक्कुले रेटेर आत्महत्या गरेका छन् । आमा ६१ वर्षीय देवीकुमारी लिम्बूको हत्या गरेर छोरा ३१ वर्षीय काले भनिने जीवन लिम्बूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।
उनकाअनुसार टाउकोमा चोट रहेको र भुइँमा रगत लतपतिएको अवस्थामा बिहान ११:३० बजेतिर देवीकुमारीको शव आफ्नै घर भित्र भेटिएको थियो । घटनास्थलमा रगत लागेको एउटा इँटा पनि भेटिएको छ ।
चुल्होमा प्रयोग गरेको इँटाले हानेर आमाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बावुको मृत्यु भइसकेकाले घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । उनीहरुबीचमा के विषयमा विवाद भएर घटना हुन पुगेको हो भन्ने बारेमा तत्काल खुल्न नसकेको प्रहरीको भनाइ छ । आमाको हत्यापछि जीवनले पनि आफ्नै घाँटीमा चक्कुले रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि ढकालले बताए ।
चक्कुले काटेर घाँटीको अगाडिको भागमा गहिरो चोट लागेर घाइते भएको अवस्थामा जीवनलाई प्रहरीले घरमै भेटेको थियो । गम्भीर अवस्थामा भेटिएका उनको उपचारका क्रममा बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीवन अविवाहित थिए ।उनी लागुऔषध र मादक पदार्थ सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। प्रहरीले लागुऔषध र मादक पदार्थकै नसामा रहेका बेला घटना गराएको हुन सक्ने बताएको छ ।
जीवनले आफ्नै घाँटी काट्न प्रयोग गरेको चक्कु फेला परेको र घटनाका बारेमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रनि ढकालले बताए । प्रहरीले आमा र छोरा दुवै जनाको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेको छ।