रुकुम घटनाको छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुममा भएको दलित युवाहरूको हत्याको छानबिन गर्नका लागि दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ढ्यापढ्यापे समय मागेर कांग्रेसका पक्षबाट बोल्दै सांसद मानबहादुर विश्वकर्माले गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा विश्वास नरहेको बताउँदै संसदीय छानबिन समित गठनको माग गरेका हुन् । सांसद विश्वकर्माले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरे । उनले भने, ‘’घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन होस् । यही माग हामी राख्छौं । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस ।’

रुकुमकी मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् ।

कांग्रेसले उक्त घटनालाई कमजोर बनाउनका लागि गृहमन्त्रालयले समित गठन गरेको र जाजरकोटमा सत्तापक्षकाले आर्थिक चलखेल गरेको दाबी गरेको छ ।

कांग्रेसले सामान्य कर्मचारीको नेतृत्वमा गठित छानबिन समितिले न्याय दिन नसक्ने भन्दै संसदीय समिति गठनको माग गरेको हो । सांसद विश्वकर्माले सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे, ‘संसदीय समिति गठन गरियोस् । यस विषयमा संयुक्त राष्ट्रसंघले पनि निष्पक्ष छानबिन गर्न माग गरेको छ । दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समित गठनको माग गर्दछौं ।’

उक्त घटना गृहमन्त्री रामबहादुर थापाले संसदमा भनेजस्तो गाउँलेले युवापक्षलाई लखेट्दा भेरी नदीमा हाम फालेको भनेजस्तो नभइ युवाहरूलाई मारेर भेरी नदीमा फालेको मृतकहरूको पोष्टमार्टम रिपोर्टले देखाएको विश्वकर्माले बताए । उनले उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरेमा कठोर कदम चाल्ने चेतावनी दिए ।