
झापा: उपभोक्ता हित संरक्षण मञ्च गौरादहले लक डाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने भन्दै एक दिने औपचारिक छलफलको आयोजना गरेको छ । अनिश्चितकालिन लक डाउनका कारण जनजीवन कष्टकर भएको भन्दै स्थानीय क्षेत्रमा लक डाउनको मोडालिटीमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सामाजिक दुरी कायम गर्दै छलफल कार्यक्रम आयोजना गरिएको हो । संस्थाका सचिब भिम बिजय बास्तोलाले सञ्चालन तथा अध्यक्ष दिलिप भण्डारीको सभापतित्वमा भएको कार्यक्रम गौरादह नगरपालिका लगायत गौरादह क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधि, गौरादह उद्योग वाणिज्य संघ, लायन्स क्लब अफ गौरादह, गौरादह जेसिस लगायत राजनीतिज्ञहरु, पुर्व सभासद तथा सञ्चारकर्मी सहितको छलफलमा कोरोना महामारीका कारण आगामी दिनमा आउन सक्ने भयावह संकटबाट कसरी बच्न सकिन्छ र नगरपालिकाको आगामी रणनीति कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा छलफल केन्द्रित रहेकोे थियो ।
लक डाउन मात्र समाधान होइन, विकल्पमा जानुपर्ने माग
७० दिन देखि एउटै मोडालिटीमा लक डाउन चलिरहेको छ । बारम्बारका छलफल र भेलाले लक डाउनको मोडालिटी परिवर्तन गर्नु पर्ने भनिएता पनि सहज परिस्थिति देखिदैन । दैनिक उपभोग्य वस्तुका, निर्माण सम्बन्धि र कृषिउपज सम्बन्धि पसलहरु खुल्ला गर्ने निर्देशन दिइएको भएता पनि लुकिछिपी रूपमा सबै प्रकारका पसलहरु खुल्ने गरेको र यस्ता पसलमा प्राप्त सामानको मुल्य आकासिएको भन्दै नियन्त्रण र नियमनको थप आवस्यकता औल्याइएको छ ।
एकातिर लक डाउनले स्थानीयलाई दैनिक जीवन यापन गर्न समस्या भएको बेला गाउँ घरमा भने जुवा तास खेलिने, सामाजिक दुरी कायम गर्नुपर्नेमा जथाभावी रूपमा भिडभाड हुने जस्ता कार्य नियन्त्रण गरिनु पर्नेमा जोड दिइएको थियो ।
क्वारेन्टाइनका भान्से माथि अभद्र व्यवहार
छलफलमा कतिपय वार्ड अध्यक्षहरु नै आफ्नो वडा भित्र क्वारेन्टाइन बनाउन नदिने प्रयासमा लाग्ने गरेको, क्वारेन्टाइनमा खाना बनाउने जिम्मेवारी पाएका भान्से माथि अभद्र व्यवहार हुने गरेको, भान्सेका परिबारहरुलाई सामाजिक बहिस्कार गर्ने भन्दै समाजमा तिरस्कृत हुनुपरेको, जस्ता असामाजिक व्यवहारले समाज बिखण्डन उन्मुख हुन थालेको भन्दै गम्भीर हुन सुझाव दिइएको थियो । कोरोना भाइरस कस्तो अवस्था सर्छ र कसरी बच्न सकिन्छ भन्ने सन्दर्भमा सचेतनामुलक कार्यक्रम गाउँ गाउँमा व्यापक रूपमा सञ्चालन गरिनु पर्ने आवस्यकता देखिएको औल्याइएको थियो।
क्वारेन्टाइन राखिएका भवन आसपास रहेका स्थानीयबासी संग छलफल तथा परामर्श गरिनु पर्नेमा सो नभएको भन्दै आगामी दिनमा बाक्लो मात्रामा क्वारेन्टाइन बनाउनु पर्ने भएकोले सहकार्य, सद्भाव र सह अस्तित्वका आधारमा छलफल तथा परामर्शलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो ।
नगर प्रमुख किन अनुपस्थित ?
उपभोक्ता हित संरक्षण मञ्च द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा मेयर रोहित कुमार साह भने अनुपस्थित रहेका थिए । सामाजिक संघ संस्थाले आयोजना गर्ने यस प्रकारका छलफल कार्यक्रमहरुको अत्यन्तै महत्त्वपूर्ण हुने र नगरपालिकालाई समेत दैनिक गतिविधि सञ्चालन गर्न पृस्ठपोषण मिल्ने भएकोले स्थानीय तहको जिम्मेवार व्यक्ति नै यस प्रकारका कार्यक्रममा किन अनुपस्थित रहन्छन् भन्ने तथ्य रहस्यमय देखिएको छ । बारम्बार टेलिफोन गरेर कार्यक्रममा आइदिन आग्रह गरिएको भएता पनि अर्को कार्यक्रममा जानुपर्ने भएकोले आउन नसक्ने बताएका आयोजकको भनाइ छ । सामाजिक संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा अनुपस्थित भएको यो पहिलो घटना भने होईन । आफुलाइ अनुकुल पर्ने नपर्ने, के कस्ता व्यक्ती द्वारा कार्यक्रम आयोजना गरिएको छ, को को उपस्थित रहन्छन् भन्ने जानकारी लिएर मात्र उनी कार्यक्रममा जाने गरेको स्थानीयको आरोप छ ।
मेयर साह अनुपस्थित रहेता पनि उपप्रमुख तथा वार्ड अध्यक्षहरुले छलफलका क्रममा उठेका जिज्ञासा समाधान प्रयास गरेका थिए ।
कार्यक्रममा गौरादह लायन्स चार्टर्ड प्रेसिडेन्ट डा. तिलक खनालले कोभिड १९ र यसबाट बच्न सकिने तरिकाको बारेमा प्रोजेक्टर मार्फत सहजीकरण गरेका थिए ।
अतिथि सदनको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता अध्यक्ष दिलिप भण्डारी तथा कार्यक्रमको सञ्चालन सचिब भिम विजय बास्तोलाले गरेका थिए ।
हाल गौरादहमा ६४ जना क्वारेन्टाइनमा
गौरादह नगरपालिकाले निर्माण गरेको ६ वटा क्वारेन्टाइनमा हाल भारत बाट आउने ६४ जनालाई राखिएको छ । जस मध्ये वडा नं. १ मा रहेको जनता मा बी मा – १४ जना, वार्ड ५ मा १२ जना, वार्ड ७ मा २२ जना र वार्ड २- कृषि क्याम्पसमा १६ जना रहेको इलाका प्रहरी कार्यालय प्रमुख बिनोद कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार प्रगति मा बी ग्वालडुब्बा र अमर मा बी बैगुन्धुरामा स्थापित क्वारेन्टाइन खाली रहेको छ । विदेश बाट गौरादहमा आगामी हप्ता करिब ५ सय जनाको हाराहारीमा मानिसहरू आउने सम्भावना लाई मध्यनजर गर्दै करिब ५ सय क्षमताको क्वारेन्टाइन बनाउने लक्ष रहेकोे बताइएको छ ।
सुरक्षा व्यवस्था उच्च
गौरादह उद्योग वाणिज्य संघ, गौरादह नगरपालिका, स्थानीय संघ संस्था, नागरिक समाज सबैको सहयोग प्राप्त भएको र अहिलेसम्म गौरादह क्षेत्रमा उच्च सुरक्षा व्यवस्था रहेको श्रेष्ठ बताउछन् । इलाका प्रहरी कार्यालयमा रहेको एक मोर्टर साइकल र एक चार चक्के गाडी रहेको छ । सुरु सुरुमा लक डाउन र कोभिड महामारीको बारेमा मानिसहरूलाई बुझाउनु पर्दा केही झण्झट रहेकोे भएता पनि हिजोआज जनमानसमा कोरोना बारे आफै चेतना भएका कारण अवस्था सामान्य नै रहेको श्रेष्ठको भनाइ छ । दैनिक गतिविधि सञ्चालन गर्न नगरपालिकाले प्रती महिना ७० देखि ८० लिटर इन्धन दिने गरेको बताइएको छ । ‘मेयर साव र क्वारेन्टाइन व्यवस्थापन समिति अध्यक्ष बलराम खरेल सहित वार्ड अध्यक्षहरुको सहयोग २४ सै घण्टा रहेको छ, जुनसुकै समयमा फोन गर्दा पनि वहाँहरु रेस्पोन्स गर्नु हुन्छ’, श्रेष्ठले ओमकार टाइम्स संग भने । ‘पछिल्लो समय झापाको एक मात्र नाका काकरभिट्टा हुँदै नेपालीहरु भारतीय भुमीबाट भित्रने व्यवस्था भएकोले कहिलेकाही रातको समयमा समेत लिन जानुपर्ने हुन्छ, यस्तो अवस्थामा नगरपालिकाले नै गाडी पठाउने गरेको बताइएको छ ।’