
सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको थियो ।
स्वास्थ्य उपचारका लागि सेनाकै छाउनी अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । संयोग मानुपर्छ, १७ दिनको अवधिमा कोही पनि बिरामी परेनन् । दुई पटक पीसीआर गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेको १७ औं दिन उनीहरूलाई घर फर्काइयो ।
क्वारेन्टाइनमा कोही पनि उपचार गर्नुपर्ने गरी बिरामी नभएको १७ दिन बसेका एक युवाले बताए । सेनाले भने उनीहरूका लागि औषधि खरिद गरेको भन्दै सरकारबाट ७३ लाख ९८ रुपैयाँ भुक्तानी लिएको छ । यसअनुसार १७ दिनमा प्रतिव्यक्ति ४२ हजार २ सय ७४ रुपैयाँ २८ पैसा औषधिमा खर्च भएको देखिन्छ ।यो खर्च अस्पतालमा उपचार गर्न बसेको भन्दा बढी भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरू नै आश्चर्यमा परेका छन् ।
‘औषधि उपचार गर्नुपर्ने गरी हामी कोही पनि बिरामी थिएनौं,’ ती युवाले भने, ‘क्वारेन्टाइनको बसाइ अवधिमा एक दिन एक जनालाई खाना अपच भएर बान्ता गर्दा जीवनजल दिएको बाहेक अरू कसैले सिटामोलसमेत लिएको छैन ।’
ती युवाका अनुसार क्वारेन्टाइनको हरेक कोठामा दुईवटा साबुन, एक सय एमएलको सेनिटाइजर, कोठा सफा गर्न पाँच लिटर सोडियम हाइपरक्लोराइड र हरेक दिन एउटा सर्जिकल मास्क उपलब्ध गराइएको थियो ।
कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।