चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ : चारवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

 

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । काठमाडौंमा आज अपराह्नपछि सामान्य वर्षा हुने मौसमविद् प्रधानाङ्ले बताए ।

 

यस्तै, आज राति देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

 

भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी तथा पहिरो जाने सम्भावना हुने भएकाले सतर्क रहन पनि विभागले भनेको छ । भिरालो बस्ती तथा नदी तटीय क्षेत्रमा विशेषगरी सतर्क हुन विभागले आग्रह गरेको छ ।